Advertisement

भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सागर डिष्टिलरी

आगामी भदौ २५ गतेदेखि सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ। कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्न लागेको हो।
आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असोज ८ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन ।