Advertisement

साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्दै झापा इनर्जी

साउन १४ गतेदेखि झापा इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको कुल शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा साउन २८ गते हुनेछ।