Advertisement

रुसद्धारा युक्रेनमा ५ सयभन्दा धेरै ड्रोन आक्रमण

रुसले युक्रेनमा ठूलो हवाई आक्रमण गरेको छ । रुसले रातभर युक्रेनको राजधानी किभलगायतका शहरहरूलाई निशाना बनाएर ५ सय ५० वटा ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ । रुसले प्रहार गरेकामध्ये ४ सय ७६ वटा ड्रोन हवाई प्रतिरक्षा प्रणालीले नष्ट पारेको युक्रेनी वायु सेनाले बताएको छ ।
रुसले युक्रेनको सुमी, खार्किभ र चेर्निहिभ क्षेत्रहरूमा पनि आक्रमण गरेको छ । युक्रेनले यो आक्रमणलाई युद्ध शुरू भएयताकै ठूलो भनेको सीएनएनले जनाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्ताको केही घण्टापछि युक्रेनमा यो आक्रमण भएको हो । यो कुराकानीपछि अमेरिकी राष्ट्रपतिले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न तयार नभएकोमा आफू निराश भएको बताउनुभएको खबरमा उल्लेख छ । पुटिनसँगको वार्तापछि ट्रम्पले लडाइँ अन्त्य गर्ने दिशामा कुनै प्रगति नभएको बताउनुभयो ।
ट्रम्पको युद्धविराम प्रस्तावलाई पुटिनले अस्वीकार गरेपछि किभमा ड्रोन आक्रमण बढेको बीबीसीले जनाएको छ ।