आज अपराह्न १२ः१५ बजे राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।
बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल हुने तयारी गरिएको सचिवालयले जनाएको छ ।सांसदहरू सुमित्रा बिसी, उर्मिला अर्याल र कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा जान लागेको हो। साथै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे बस्दै












