Advertisement

मुख्यमन्त्री सिंहद्वारा विभिन्न सात अस्पताल अनुगमन

मापदण्डविपरीत सञ्चालन भइरहेका निजी अस्पतालविरुद्ध आक्रामक रूपमा उत्रिएका मधेश प्रदेशका मुख्यमन्त्रीले आज आइतबार पनि राजविराजका विभिन्न सात वटा अस्पताल अनुगमन गरेका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनका क्रममा स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिएको राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिए। यस्तै राजविराजमा सञ्चालन हुँदैआएको भारती इमेजिङ सेन्टरलाई सेवा सञ्चालन अनुमतिपत्र नरहेकाले बन्द गर्न निर्देशन दिएका प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले जानकारी दिए ।

स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेका तर मापदण्ड पूरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ ।