बौद्ध स्तुपामा रहेको अखण्डदीप ननिभिएको श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिले जनाएको छ ।
समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष खड्गजीत लामाले यसअघि गुठीको व्यवस्थापन एकलौटी रूपमा हुँदै आएकोमा अहिले व्यवस्थापन समितिमार्फत सामूहिक जिम्मेवारी र निर्णय प्रक्रियाबाट व्यवस्थापन गर्ने गरिएको जानकारी गराए । बाहिर हल्ला फैलाइए जस्तो अखण्ड दीप ननिभेको प्रष्ट पार्दै उनले धर्म र आस्थासंग जोडिएको विषयमा निराधार हल्ला नफैलाउन आग्रह समेत गरे ।
करिब ४ सय ५० वर्ष पुरानो समितिको इतिहास रहेपनि गुठीयार बिना नै ब्यक्ति केन्द्रीत रही गुठी सञ्चालन गरिएकोले विगतमा बेथिति देखिएको तर, अहिले व्यवस्थित बन्दै गएको सामाजिक अभियन्ता चन्द्रजित मोक्तानले बताए ।
पत्रकार सम्मेलनमा समितिका सदस्य एवं काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धका वडाध्यक्ष भुवन लामाले सयौं वर्षपछि समिति जनताको हातमा आएको बताए । “विगतमा आयव्यय थाहै नहुने भएपनि अहिले सार्वजनिक गर्ने गरिएको छ । अमुक व्यक्तिको अधिनमा रहेको समितिमा पहिलोपटक स्थानीयले अपनत्व उनको भनाई छ ।
समितिले बौद्धनाथको परम्परागत धर्म, संस्कृति र दैनिक पूजापाठलाई निरन्तरता दिनुका साथै, गुठीको स्वामित्वमा रहेका चल–अचल सम्पत्तिको अधिकतम परिचालन, संरक्षण र सम्वद्र्धन गरिएको जनाएको छ ।
खड्गजीत लामाको अध्यक्षतामा गुठीमा ९ सदस्यीय व्यवस्थापन समिति रहेको छ । गुठी संस्थान ऐन, २०३३ को दफा १६ र १७ तथा गुठी देवस्थल व्यवस्थापन समिति गठन सम्बन्धी निर्देशिका, २०८१ को प्रावधान बमोजिम यसै वर्ष यो समिति गठन भएको हो । कानुन अनुसार बनेको यो कार्यसमिति पहिलो हो ।
समितिको सचिवमा टासी लामा र कोषाध्यक्षमा शैलेन्द्र लामा छन् । त्यसैगरी सदस्यहरुमा किशोर लामा, निर्मला लामा र पदेन सदस्यहरुमा गुठी संस्थान शाखा कार्यालय काठमाडौका प्रतिनिधि, काठमाडौ महानगरपालिका वडा नं ६ का प्रतिनिधि, पुजारी लामा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी र जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रतिनिधि रहेका छन् ।












