Advertisement

आज साउन १५ खीर खाएर मनाइँदै

आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।
वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन । साउन भगवान शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रीहरुले बताएका छन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात खीर बनाएर खुवाउने चलन अझै कायमै छ ।
चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ ।