Advertisement

आज काग तिहार मनाइँदै

आजदेखि विधिवत् रुपमा तिहार सुरु भएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर मनाइँदैछ ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।बिहान सूर्यदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ ।