गुम्बा विकास समिति खारेजविरुद्ध गुम्बा विकास समिति बचाउ नागरिक संघर्ष समिति बचाउमा अघि बढेको छ ।
सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका हुन् ।
बिहिबार राजधानीको संवाद डबलीमा ‘गुम्बा विकास समिति बचाउ नागरिक संघर्ष समिति’ले पत्रकार सम्मेलनको अयोजना गरी सरकारले निर्णय फिर्ता नलिए आन्दोलन गर्ने जानकारी दिए ।
संघर्ष समितिका संयोजक पाल्साङ बज्र लामाले सरोकारवाला पक्षसँग परामर्श नगरी ‘बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई खारेज गरिए मान्य नहुने बताए ।
संघर्ष समितिका प्रवक्ता इन्द्र रोकाया डोल्पो (शेराप)ले नेपाल सरकारको ‘सुशासन मार्गचित्र २०८२’ मा विकास समितिलाई खारेज गर्ने सिफारिसले लाखौं बौद्ध अनुयायीहरुलाई चिन्तित बनाएको बताए ।
संघर्ष समितिका टासीग्याल्जेन चाङ्बा भोटे(मिथुन)ले समितिलाई हचुवाको भरमा खारेज गर्ने भन्दा यसको ऐतिहासिक भूमिका, जिम्मेवारी र आवश्यकताबारे विस्तृत अध्ययन तथा सरोकारवालासँग परामर्श गर्न सरकारलाई आग्रह गरे ।
संबोटा लिपि भाषा अभियान्ता सिंहबहादुर तामाङले लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनासम्बन्धी कानुनले बौद्ध दर्शनसम्बन्धी शैक्षिक तथा प्राज्ञिक गतिविधि सञ्चालन गर्ने व्यवस्था गरे पनि त्यसैलाई आधार बनाएर गुम्बा व्यवस्थापन, संरक्षण तथा विकासको ऐतिहासिक जिम्मेवारी बोकेको समिति खारेज गर्नु उचित नहुने धारणा राखे ।
तामाङले ‘गुम्बा व्यवस्था तथा विकास समिति’ कायम गरी यसको मूल उद्देश्यअनुसार सञ्चालन गर्नुपर्ने माग गरे । संघर्ष समितिले आफ्ना माग सम्बोधन गराउन विभिन्न कार्यक्रमसमेत घोषणा गरेको छ ।
गुम्बा विकास समिति खारेज गरिए संघर्षमा उत्रिने चेतावनी












