मङ्गलवार राजधानीमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल (निडवान) र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को आयोजनामा अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरुको मुद्दाका विषयमा अन्तरसंवाद कार्यक्रममा सम्पन्न भएको छ ।
कार्यक्रममा अपाङ्गता भएका आदिवासी जनजाति महिला र बालिकाका सवाललाई मूलधारका सञ्चार माध्यममा मुलप्रवाहिकरण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका थिए । कार्यक्रममा निडवानकी अध्यक्ष डा.प्रतिमा गुरुङले लैङ्गिकता, अपाङ्गता र सीमान्तकृतका सवाललाई मूलधारका सञ्चारमाध्यममा समावेशीकरण र मुलप्रवाहिकरण कसरी गर्न सकिन्छ र त्यसमा के के चुनौती छन् भन्ने विषयलाई उजागर गर्नु कार्यक्रमको उद्देश्य रहेको बताइन् ।
समावेशी र समतामूलक समाज निर्माणमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने भएकाले अपाङ्गता भएका आदिवासी जनजाति महिलाका यस्ता संवेदनशील सवालहरूलाई कसरी अधिकारमुखी अवधारणाबाट व्यक्तिको मर्यादित जीवनसम्म जोड्न सकिन्छ भन्नेमा सामूहिक रूपमा पहल गर्नुपर्नेमा जोड दिइन् । समाचार लेख्ने क्रममा शब्द चयनमा ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को तर्फबाट प्रस्तुति दिँदै संस्थाकी अध्यक्ष रामकला खड्काले मूलधारका सञ्चार माध्यमले आफ्नो सञ्चार गृहको जनशक्ति र नेतृत्व तहमा सबै वर्ग र लिङ्गको समानुपातिक प्रतिनिधित्व गराउने, समाचार र कार्यक्रमहरूमा सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकता दिने र सञ्चार संस्थाले आफ्नै ‘समावेशी सञ्चार निर्देशिका’ बनाएर लागु गराउनुपर्ने बताईन् ।
त्यस्तै निडवानका प्राविधिक सल्लाहकार कृष्ण गहतराजले जसको जीवन्त भोगाई छ समाचारमा त्यसैलाई केन्द्रित गर्दै उसैको आवाजमा प्रसारण हुनुपर्ने उनले बताए । अपाङ्गता भएका महिला त्यसमा पनि आदिवासी जनजाति महिलालाई पनि पत्रकारितामा ल्याउन सुझाव दिए । पत्रकारले जति नै समाचार बनाए पनि विभिन्न खाले अपाङ्गता भएका व्यक्तिले त्यसलाई पढ्न, हेर्न बुझ्न सकेन र त्यो सूचनामा पहुँच हुन सकेन भने यसको पनि कुनै अर्थ नहुने हुँदा पत्रकार महिलाले पनि यस विषयमा ध्यान दिनुपर्ने उनले सुनाए । अपाङ्गताको सवाललाई मिडियाले दयामुखी अवधारणाले बस्तुकरण मात्र नगरेर अधिकारको हिसाबमा पनि हेरिदिन र हरेक विषयलाई अन्तरक्षत्रिय दृष्टिकोणबाट हेर्न सुझाव दिए ।
कार्यक्रममा उपस्थिति विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाले आफूले अपाङ्गता भएका आदिवासी जनजाति महिलाका विषयमा लेखेका समाचारहरूका विषयमा अनुभव सुनाए । कतिपय अवस्थामा आफूहरूले अपाङ्गतामैत्री, महिलामैत्री र आदिवासी जनजातिमैत्री शब्दहरूको प्रयोग गरेर निकै संवेदनशील ढङ्गमा कुराकानी गरेर स्टोरी लेखन वा कार्यक्रम तयार पारे पनि डेस्क सम्पादक वा सम्पादकको तहबाट राम्रो बनाउने नाममा उल्टै बिगारिदिने परिपाटि रहेको गुनासो पनि पोखे,सम्पादकहरूका लागि पनि यस्ता विषयमा तालिम तथा सचेतना कार्यक्रम आवश्यक रहेको उपस्थित महिलाहरुको धारणा थियो ।
अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवालमा शब्द चयनमा ध्यान दिनुपर्छ












