Advertisement

काभ्रे प्रशासनद्वारा कफ्र्यूको समय लम्ब्याइयो

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कफ्र्यूृको समयलाई आज पनि निरन्तरता दिएको छ ।
समय थप गरी जारी कफ्र्यू आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा हस्ताक्षरित कफ्र्यू आदेशमा स्थानीय प्रशासन ऐन बमोजिम जिल्ला सुरक्षा समितिको आज बिहानको निर्णयानुसार जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । आदेशमा जिल्लाभर पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, आवतजावत गर्न, कुनै पनि प्रकारको भेला–जुलुस प्रदर्शन, सभा र घेराउ गर्न नपाउने उल्लेख गरिएको छ ।
यस्तै, अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन, औषधि, दूध र तरकारी बोक्ने सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पर्यटक र अन्तरराष्ट्रिय हवाई टिकट भएका यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने ढकालले बताए ।
यसअघि जिल्लामा सोमबार राति १० बजेदेखि पटकपटक समय थप गरी आज बिहान ६ बजेसम्म कफ्र्यू आजेश जारी गरिएको थियो । स्थानीय प्रशासनद्वारा कफ्र्यू आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न परिचालन भएका हुन ।