शुक्रबार काठमाण्डौको नयाँ बानेश्वरमा शक्ति समूह र क्रियाशील पत्रकार महिलाको संयुक्त आयोजनामा ‘मानव बेचबिखन तथा ओसारपसारको सवालमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।
नेपालमा भदौ २० गते १९औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै छ । पछिल्लो समय पनि विभिन्न किसिमले मानव बेचबिखन भईरहेको भन्दै शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले चिन्ता व्यक्त गरिन् । मानव बेचबिखनका पीडितहरुले न्याय पाउन निकै गाह्रो रहेको पनि बताईन । लामो समयदेखि मानव बेचबिखन पीडितको उद्धारमा सक्रिय शक्ति समूहकी संस्थापक चरिमाया तामाङले पीडितलाई न्याय दिन राज्य असफल भइरहेको भन्दै सञ्चारकर्मीलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरिन् । तामाङले पीडितहरूले अझैसम्म न्याय नपाइरहेको कटु सत्यतर्फ ध्यानाकर्षण गराउँदै समस्यामा परेको व्यक्तिलाई आत्मसम्मान सहित बाँच्न पाउने हक सुनिश्चित गराउन राज्य चुकेको बताईन् । उनले सञ्चारमाध्यमलाई संवेदनशील र जिम्मेवार समाचार लेखनमा जोड दिन आग्रह गरिन । विशेषगरी पीडितको गोपनीयता, मानसिक आघात र सामाजिक लाञ्छना ख्याल नगरी समाचार बन्ने प्रवृत्तिले पीडितमाथि पुन अन्याय हुने खतरा रहेकोले यस्ता कुरामा ध्यान दिन आग्रह गरिन् । उनले सञ्चारकर्मीलाई नीतिगत निकायलाई खबरदारी गर्ने र समस्यामा परेका व्यक्तिको आवाजलाई न्यायसम्मत प्रस्तुत गर्न समेत आग्रह गरिन ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले पछिल्लो समय भिजिट भिसाका नाममा मानव बेचबिखन हुने गरेको बताउँदै त्यसका लागि समेत सबै लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कान्तिपुरी टेलिभिजनकी सञ्चारकर्मी तथा अधिवक्ता रुपा खड्काले मानब बेचबिखन र सञ्चार क्षेत्रमा भुमिका बारे धारणा राखेकी थिईन । कार्यक्रममा क्रियाशील पत्रकार महिलाको संस्थापक अध्यक्ष संगिता लामा,अध्यक्ष रामकला खड्का र संस्थाको सदस्याहरु सँगै विभिन्न सञ्चार क्षेत्रमा कार्यरत महिलाहरुको बाग्लो उपस्थिति रहेको थियो ।
मानव बेचबिखन तथा ओसारपसारको सवालमा सञ्चार क्षेत्रको भूमिका अन्तरक्रिया कार्यक्रममा सम्पन्न












