काठमाडौंको बौद्धमा आगामी साउन २५ र २६ गते गाईजात्रा तथा रोपाई जात्रा, तामाङ समुदायमा प्रचलित ‘घोनाई’ पर्व, भव्य रूपमा मनाइने भएको छ।
जात्राको आयोजकले बिहीबार काठमाण्डौंको श्री बौद्ध तामाङ कल्याण गुठीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन । नेपाल विविध धर्म र संस्कृतिको संगमस्थल हो भने बौद्धजस्ता ऐतिहासिक एवं सांस्कृतिक नगरमा मनाइने रोपाई जात्राले तामाङ समुदायको मौलिक संस्कृतिको पहिचान झल्काउँछ। स्थानीय भाषामा ‘घोनाई’ भनिने यो पर्व जनैपूर्णिमा अर्थात्‘घोनाई ड्या’ देखि आरम्भ भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा पुगेर समापन हुन्छ। यो जात्रा अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछ।
जनैपूर्णिमाका दिन तामाङ समुदायमा मन्दिर,चैत्य,कुलदेवता र खेतबारीमा क्वाँटी र तीतेपाती चढाउने चलन छ भने घरघरमा क्वाँटी पकाइन्छ। नेवारी समुदायमा गाईजात्रा ‘सापारु’ का नामले चिनिन्छ, जुन दिवंगत आत्माहरूको सम्झनामा मनाइने पर्व हो। यसै सन्दर्भमा रोपार, बाउसे, हलीजस्ता भूमिकामा कलाकारहरूले अभिनय गरी रोपाइँको प्रतीक प्रस्तुत गर्ने परम्परा छ।
गाईजात्राको औपचारिक शुरुआत कान्तिपुरका राजा प्रताप मल्ल ९सन् १६४१–१६७४० ले गरेका हुन् भन्ने मान्यता छ। छोरा चक्रवतीन्द्र मल्लको असमय मृत्युपछि शोकमा डुबेकी रानी अनन्तप्रियालाई सान्त्वना दिन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएका थिए। कतिपय संस्कृतिविद्हरू गाईजात्राको सुरुआत त्यसभन्दा पहिलेदेखि नै भएको उल्लेख गर्छन । त्यसैको निरन्तरता स्वरूप बौद्ध क्षेत्रमा पनि रोपाइँ जात्रामा दिवंगत आत्माको सम्झनामा घरघरबाट बाउसे, रोपारका रूपमा सहभागी गराउने चलन रहिआएको छ।
गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) मूल समारोह समिति २०८२ को आयोजनामा श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा कार्यक्रम हुने भएको हो। यस वर्षका लागि विभिन्न १३ विधामा पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
हल गोरु, युवा तथा बाल बाउसे र रोपार, व्यङ्ग्य, हास्य, युवा तथा बाल लाखे, झाँकी, घोडा प्रदर्शन, विद्यालयस्तरीय प्रस्तुति, घोनाई मौलिक नाच (विशेष पुरस्कार)
प्रत्येक विधामा प्रथमलाई रु १०,०००, द्वितीयलाई ७,०००, तृतीयलाई ५,००० र सान्त्वना पुरस्कारको रूपमा २५०० रुपियाँ प्रदान गरिने छ। झाँकी विधामा सान्त्वना पुरस्कार रु ३,५०० रहनेछ।
घोनाई जात्रा तामाङ समुदायको मौलिक पहिचान मात्र नभई सम्पूर्ण नेपाली समाजमा सहिष्णुता, संस्कृति र सहअस्तित्वको प्रतीक हो। यस्तो पर्वले बहुसांस्कृतिक समाजमा एकताको भावना अभिवृद्धि गर्दै नेपाललाई साँस्कृतिक सम्पदाको धनी राष्ट्रको रूपमा चिनाउन सहयोग पुर्याउनेछ।












