आज बिहानैदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ ।
गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । लोकमार्गको सडकखण्डमा राति परेको अविरल बर्षाको कारण ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको छ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा गरी तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ ।
गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ ।सडक अवरुद्ध भएका कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छन ।ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट राजधानी हिँडेका सवारीसाधनले केही समय कुर्नुपर्ने हुनेछ ।
सडकमा खसेको पहिरो र लोदो पन्छाउनको लागि पहल भइरहेको प्रहरीले बताएको छ ।
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध












