आइतबार तामाङ पत्रकार संघले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङको प्रमुख अतिथ्यामा संघले स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा संघले पत्रकारलाई सम्मान, अन्तरक्रिया र रक्तदान कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा म्हेन्दोला फोलेका सञ्चालक सुनिल लामा दोङलाई रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार–२०८२ ग्लोबल मिडियाकी सम्पादक तथा प्रबन्ध निर्देशक अन्जु डिम्दोङ तामाङलाई दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार–२०८२ र नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको ‘तामाङ तामसोर’ कार्यक्रमका सम्पादक तथा प्रस्तोता वीरबल तामाङलाई तामाङ मातृभाषा पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको थियो ।
संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङले स्थापना गरेको रवीन्द्र तामाङ पत्रकारिता पुरस्कारु को राशि १५ हजार रुपैयाँ रहेको थियो । संस्थापक सचिव स्व. दीपन्द्र दोङ तामाङको स्मृतिमा स्थापित पुरस्कार र तामाङ मातृभाषा पत्रकारिता पुरस्कारको राशि १० र १० हजार रुपैयाँ छ ।
यस्तै, पाँच हजार राशिको कालिका तामाङ नारी प्रतिभा–२०८२ बाट नाट्यकर्मी तथा सञ्चारकर्मी शान्ति वाइबा तामाङ सम्मानित भएकी छन । पुरस्कृत र सम्मानित हुनेहरुलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङलगायतले नगद राशि, सम्मानपत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ऊर्जामन्त्री घिसिङले तामाङ पत्रकार संघसँग सहकार्य गर्न आफू तयार रहेको बताए । उनले आसन्न निर्वाचनबाट सही व्यक्ति निर्वाचित गराउने विषयमा पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा अध्यक्ष नेत्र तामाङले २२ वर्षको यात्रामा तामाङ पत्रकार संघ परिपक्व बन्दै गएको भन्दै आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।
कार्यक्रमको दोस्रो सत्रमा संस्थापक तथा लेखक रवीन्द्र तामाङले तामाङ पत्रकार संघको विगत, तामाङ पत्रकारिताको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । आइतबार नै संघको केन्द्रीय समितिको पूर्ण बैठक र रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष तामाङले बताए ।












